भोटेकोशी बाढीपीडितका लागि सिद्धि गणेश सहकारीद्वारा रु. १ लाख ११ हजार सहयोग
भाद्र १७ । गोरखाको हरमटारीस्थित श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले सो सहयोग गरिएको हो ।
बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संस्थाले विपद्को यस घडीमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो। संस्थाको निर्णय अनुसार सो रकम कोषको बैंक खातामा जम्मा गरी सहयोगबारे गोरखाको प्रमुख जिल्ला अधिकारीज्यूलाई समेत जानकारी गराईएको संस्थाले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीको प्रभाव गोरखासहित विभिन्न जिल्लामा समेत परेको थियो। विपद्का कारण प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्य जारी छ।
सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विपद् तथा संकटका समयमा समुदायसँग सहकार्य गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि आवश्यकता र परिस्थिति अनुसार सामाजिक तथा मानवीय सेवाका कार्यमा सहयोग गर्ने जनाएको छ।