श्री सिद्धि गणेश सहकारीको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न
भाद्र ६, गोरखा । गोरखाको हरमटारीस्थित श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभामा संस्थाको गत आर्थिक वर्षको प्रगति, आर्थिक अवस्था, वार्षिक कार्यसम्पादन तथा आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको थियो। संस्थाका कोषाध्यक्ष विशाल राना मगरले साधारण सभामा आर्थिक विवरण प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा ६० लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको जानकारी गराउनु भएको थियो।
सभामा संस्थाका सचिव श्रवण कुमार जोशीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनहरुमा संस्थाले हासिल गरेका उपलब्धि, वित्तीय कारोबार, सदस्यको अवस्था, बचत तथा ऋण लगानी लगायतका विषयमा जानकारी गराइएको थियो। साथै आगामी आर्थिक वर्षमा संस्थाको वित्तीय अवस्था थप सुदृढ बनाउँदै सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्ने तथा सदस्यको आर्थिक हित र संस्थाको दिगो विकासमा केन्द्रित भएर अघि बढ्ने विषयमा छलफल भएको थियो।
संस्थाका अध्यक्ष शरद बाबु कट्टेलको अध्यक्षता एवं संस्थापक अध्यक्ष अच्युतलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले संस्थाको पारदर्शिता, वित्तीय अनुशासन र सुशासनलाई थप प्रभावकारी बनाउँदै सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार संस्थालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
सभामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो। सभाले संस्थाको आगामी कार्यदिशा तय गर्दै सदस्य र समुदायको आर्थिक तथा सामाजिक विकासमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाएको छ।
Posted By :- Administrator, Thursday, September 3, 2026 11:23 AM